बिर्तामोड । झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिलातर्फ एस्तर राई घाेषित भएका छन् ।
शारिरीक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारे । राई साउथ एसियन च्याम्पियन हुन् ।
महिला स्पर्धामा कराँतेकी एस्तर राई उत्कृष्ट ठहरिन् । एकेएफ केडेट च्याम्पियन राईले मनोनयनमा परेका फुटबलर एन्जिला तुम्बापो र भलिवलकी बिनिता बुढाथोकीलाई पछि पारिन । अवार्ड विजेता राईले एक थान स्कुटर प्राप्त गरिन ।
यसैगरी वर्ष उत्कृष्ट खेलाडी युवाको अवार्ड क्रिकेटर अप्सरी बेगमले जितेकी छन् । मेचीनगरकी बेगमले मनोनयनमा परेका फुटबलर छिरिङ गुरुङ र ब्याटमिन्टनकी अमिता गिरीलाई पछाडि पारेकी थिइन । युवा वर्ष खेलाडी भएकी बेगमले नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका हरि खड्काले जिते । उनले बक्सिङका डम्बर लिम्बू र कराँतेका प्रशिक्षक योगेश राईलाई अछाडि पारे । खड्काले नगद २५ हजार रुपैयाँ हात पारे ।
पिपुल्स च्वाइजको अवार्ड फुटबलर कर्ण लिम्बूले जिते । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार भलिबलका गणेश विक्रम नेम्वाङले प्राप्त गरे । उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।
नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर स्वर्गीय आशिष विक्रम नेम्वाङको स्मृतिमा अवार्ड पछिल्लो तीन वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।