काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई ५ दिन दशै बिदा दिने भएको छ ।
राखेपले दशै मनाउन बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकलाई ५ दिनको बिदा दिन लागेको हो ।
साग सचिवालयका प्रमुख कमल खनालका अनुसार खेलाडीलाई असोज १८ गतेदेखि २२ गतेसम्म बिदा दिने तयारी भएको खेलपाटीलाई बताएका छन् ।
खनालका अनुसार खेलाडीलाई दशैमा बिदा उपलब्ध गराएपनि तिहारमा भने सो सुविधा उपलब्ध हुने छैन ।
‘प्रतियोगिताको मिति नजिकै हुने हुदाँ तिहारमा छुट्टी हुदैन । तर दशैमा ५ दिन बिदा हुनेछ ।’ उनले भने ।
नेपालमा आयोजना हुन गईरहेको सागका लागि खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।
अहिलेसम्म १० खेलका खेलाडीको अन्तिम छनोट टुङ्गो लागेको छ । अन्य खेलहरुको समेत अन्तिम छनोट चलिरहेको छ ।
सागका लागि कराते, तेक्वान्दो, जुडो, फेन्सिङ, उसु, टेबल टेनिस बक्सिङ, लन टेनिस, आर्चरी र स्क्वासले खेलाडी छनोट गरिसकेको छ । अब १८ खेलको खेलाडी छनोट हुन बाँकी छ ।
अन्तिम छनोटमा परेका खेलाडीलाई वैदेशिक प्रशिक्षणदेखि विदेशी प्रशिक्षकलाई नेपाल ल्याएर प्रशिक्षण दिने सरकारको तयारी छ । सागको बन्द प्रशिक्षणमा अहिले २७ खेलका लागि खेलाडी सहभागी छन् ।
१३ औ संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गते आयोजना हुदैछ ।