काठमाडौं । वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालकी सरस्वती चौधरीले औसत प्रर्दशन गरेकी छिन् । शनिबार भएको सय मिटर स्पर्धामा सरस्वतीले १२ दशमलव ७२ सेकेन्डको प्रर्दशन गरेकी हुन् ।
कतारको दोहामा भएको वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट सहभागीता जनाउने सरस्वती एक्लो नेपाली खेलाडी हुन् ।
उनले सय मिटर स्पर्धामा नेपालको प्रतिनिधित्व गरेकी थिईन् । नेपाल एथ्लेटिक्स संघले नेपालबाट वर्ल्ड च्याम्पियनसिपमा सरस्वतीको नाम सिफारिस गरेको थियो ।
सरस्वती हिट चरणको दोस्रो नम्बरमा थिईन् । सय मिटर स्पर्धामा ६ वटा हिट राखिएको थियो ।
छोटो दुरीको दौडमा सरस्वती नेपालको अब्बल खेलाडी मानिन्छिन् । उनले आठौं राष्ट्रिय खेलकुदमा सय र दुई सय मिटर स्पर्धामा स्वर्ण जितेकी थिईन् । उनी विभागीय टिम नेपाल आर्मी क्लबकी खेलाडी हुन् ।
पछिल्लो समय उनले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को छनोट प्रतियोगितामा १२ दशमलव २५ सेकेन्डको समय निकालेकी थिईन् ।
सरस्वती प्रशिक्षक र व्यवस्थापबिनै वर्ल्ड च्याम्पियनसिप खेल्न दोहा पुगेकी थिईन् । एथ्लेटिक्स संघले अन्तिम समयमा आएर मात्र सरस्वतीको नाम वर्ल्ड च्याम्पियनसिपमा सिफारिस गरेको थियो ।