काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारी व्यवस्थापन तथा तयारी समितिको बैठक आज (बिहिबार) बस्दैछ ।
सागको लागि आर्थिक कार्यविधि पारित भएसंगै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तयारी समितिको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अपरान्ह २:४५ बजे बस्ने कार्यतालिका रहेको छ ।
साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यसअघि खेलकुद मन्त्रीले बैशाख २६ गते सागको तयारी समितिको बैठक बोलाएका थिए । सोही बैठकले बजेट निर्धारणका लागि कार्यदल गठन गर्नुका साथै खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो ।
त्यसपछि सागको तयारी समितिको बैठक पहिलो पटक बस्न लागेको हो । बैठकमा समितिका सम्पुर्ण सदस्यलाई उपस्थितीका लागि अनुरोध गरिएको छ ।
सरकारले सागको तयारीका लागि खेलकुद मन्त्रालयलमार्फत राखेपलाई प्रारम्भिक बजेट बिनियोजन गरिसकेको छ ।