काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले यसै साता हुने नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभापछि क्यानमाथिको निलम्बन फुकुवा हुने बताएका छन् ।
सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले क्यानको साधारण सभापछि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानलाई फुकुवा गर्ने बताए ।
नयाँ नेतृत्व चयनको लागि क्यानको केन्द्रिय निर्वाचन शुक्रबार र शनिबार हुदैछ । र, उक्त निर्वाचनपछि क्यान फुकुवा अघि बढ्ने सदस्य सचिवको भनाई छ ।
'क्यानको साधारण सभापछि क्रिकेटले नयाँ गति लिन्छ । चुनावपछि प्रतिबन्ध फुकुवा हुन्छ,' सदस्य सचिव सिलवालले भने ।
यस्तै सदस्य सचिव सिलवालले नेपाली क्रिकेटको प्रणाली, पारदर्शिता लगायतका कुराहरु आईसीसीको सहयोगमा निर्भर हुने बताए ।
'निर्वाचनपछि नेपाली क्रिकेटकाे प्रणाली, पारदर्शिता र सुशासन आईसीसीको सहयोगमा निर्भर रहन्छ,' सदस्य सचिव सिलवालले थपे ।