काठमाडौं । खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी व्यवस्थापन तथा तयारी समितिको बैठक बोलाएका छन् ।
सागको लागि आर्थिक कार्यविधि पारित भएसंगै खेलकुदमन्त्रीले तयारी समितिको बैठक बोलाएका हुन् ।
साग आयोजनामा अहिलेसम्म भएको प्रगतिको छलफल गर्न र बाँकी काम पुरा गर्ने कार्ययोजना बनाउन तयारी समितिको बैठक बोलाईएको खेलकुद मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
यसअघि खेलकुद मन्त्रीले बैशाख २६ गते सागको तयारी समितिको बैठक बोलाएका थिए ।
सोही बैठकले बजेट निर्धारणका लागि कार्यदल गठन गर्नुका साथै खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो ।
त्यसपछि सागको तयारी समितिको बैठक पहिलो पटक बस्न लागेको हो ।
‘सागको तयारीका सम्बन्धमा अहिलेसम्म भएका कामको समिक्षा गर्दै थप गर्न बाँकी कामको बिषयमा छलफल गर्न बैठक राखिएको हो ।’ खेलकुद मन्त्रीको नीजि सचिवालयले भनेको छ ।
बैठकमा समितिका सम्पुर्ण सदस्यलाई उपस्थितीका लागि अनुरोध गरिएको छ । बैठक सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा बिहिबार दिउँसो ३ बजे बस्नेछ ।
सरकारले सागको तयारीका लागि खेलकुद मन्त्रालयलमार्फत राखेपलाई प्रारम्भिक बजेट बिनियोजन गरिसकेको छ ।