काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले आगामी अक्टोबरमा नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुने बताएका छन् ।
राजधानी सोमबार आयोजित एक कार्यक्रममा बोल्दै सदस्यसचिव सिलवालले अक्टोबरमा आयोजना हुने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बोर्ड बैठकले नेपालको फुकुवा हुने बताए ।
'आज आईसीसीका प्रतिनिधिसँग छलफल भयो । अक्टोबरको मिटिङबाट फुकुवा हुन्छ,' सदस्य सचिव सिलवालले भने, 'ग्रासरुट क्रिकेटको बारेमा समेत छलफल भएको छ ।'
सिलवालले अक्टोबर १२ र १२ मा आईसीसीको बैठक बस्ने र नेपाललाई त्यहिँ बैठकले फुकुवा गर्ने बताए ।
सदस्य सचिव सिलवालले सोमबार बिहान आईसिसीका पदाधिकारीसँग छलफल गरेका थिए । छलफलमा आईसीसीका प्रतिनिधि इमरान ख्वाजा र अमर शेख तथा आईसीसी गठन गरेको स्वतन्त्र कमिटिका सदस्य राजेश्वर श्रेष्ठ रहेका थिए ।
उक्त छलफलले क्यानको केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने निर्णय समेत गरिसकेको छ । क्यानको केन्द्रिय निर्वाचनबाट नयाँ नेतृत्व आएपछि आईसीसीले क्यान निलम्बनको प्रक्रिया अघि बढाउने छ ।