काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचन असाेज १० र ११ गते गर्ने सहमती बनेको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटिका प्रतिनिधि सहितको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।
केन्द्रिय निर्वाचनमा प्रक्रियागत समस्या देखिएपछि विवाद समाधानका लागि आईसीसीका प्रतिनिधि छलफल गर्न आईतबार नेपाल आएका थिए ।
आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेका थिए ।
सोही अनुसार बैठकले क्यानको केन्द्रिय निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादीत तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ ।
राखेप सदस्य सचिव सिलवालले दुवै पक्षको सहमतीमा केन्द्रिय निर्वाचनको मिति तय भएको खेलपाटीलाई बताए ।
‘दुवै पक्षको मिति तय भएको छ । अब दुवै पक्षको प्रतिनिधि रहने गरि निर्वाचन समिति बन्छ ।’ सिलवालले भने, ‘दुवै पक्षको प्रतिनिधि राखेर निर्वाचन गराउने सहमती बनेको छ ।’
सदस्य सचिव सिलवालले राखेपको सहमती बिना हुने निर्वाचनलाई मान्यता नदिने भन्दै स्वतन्त्र कमिटिले असोज ३ र ४ गतेका लागि तय गरेको निर्वाचनको सूचना फिर्ता लिन निर्देशन दिएका थिए ।
सदस्य सचिवको निर्देशनसंगै असोज ३ र ४ गतेको निर्वाचन अन्यौलमा परेको थियो ।
‘नेपाल क्रिकेटमा हुन सक्ने विकासका लागि आईसीसीका प्रतिनिधिसंग अनुरोध गरेका छौ । त्यसमा समेत उहाँहरु सकारात्मक हुनुहुन्छ । आशा सहित चाँडै प्रतिबन्ध फुकुवा हुन्छ ।’ सिलवालले भने, ‘नयाँ आउने क्यानले नेपाली क्रिकेटलाई अगाडी बढाउनेछ ।’
क्यानको स्वतन्त्र कमिटिले यसअघिनै जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरिसकेको छ ।
निलम्बन फुकुवा हुने विश्वास
आईसीसीको अगामी बोर्ड बैठक असोज २६ गते बस्दैछ । तर बैठकको एजेण्डा असोज १५ गतेनै तय हुनेछ ।
सोही कारण असोज १५ अगाडी केन्द्रिय निर्वाचन सकेर प्रतिवेदन आईसीसीमा बुझाउनुपर्ने बाध्यता स्वतन्त्र कमिटिलाई छ ।
सोही कारण असोजको दोस्रो साताभित्र निर्वाचन सम्पन्न भएर सम्पुर्ण रिपोर्ट आईसीसीमा पुगेको अवस्थामा नेपाल क्रिकेटमाथि लागेको निलम्बन फुकुवा हुनेछ ।
सोही कारण असोजको दोस्रो साताभित्र निर्वाचन सक्ने गरि आईसीसीले नेपाल क्रिकेट विवाद समाधानको रोडम्याप तयार पारेको थियो ।