काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचनमा देखिएको विवादका बिषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सरोकारवाला निकायसंग आज (सोमबार) छलफल गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफुसंग अनुमती नलिएर गरिएको केन्द्रिय निर्वाचन मान्य नहुने बताएपछि क्यानको विवाद समाधानमा नयाँ अवरोध देखा परेको थियो ।
क्यानको केन्द्रिय निर्वाचनका लागि आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले असोज ३ र ४ गते काठमाडौंमा आयोजना गर्ने गरि सुचना जारी गरेको थियो ।
तर राखेप सदस्य सचिव रमेश शिलवालले स्वतन्त्र कमिटिलाई सुचना फिर्ता लिएर निर्वाचनका लागि परिषद्संग अनुमती लिन निर्देशन दिएका थिए । उनले राखेपले बनाएको निर्वाचन समितिसंग मात्र चुनाव गराउन सक्ने वैधानिक आधार रहेको अडान राखेका थिए । सोही कारण क्यानको केन्द्रिय निर्वाचन अन्यौलमा परेको थियो ।
स्वतन्त्र कमिटिले जिल्ला, प्रदेशको निर्वाचन सकेर अन्तिममा केन्द्रिय निर्वाचनको मिति तय गरेको थियो ।
अन्तिम समयमा केन्द्रिय निर्वाचनको प्रक्रियाको अन्यौलता देखिएपछि आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेख नेपाल आएका छन् ।
आईसीसीका दुवै प्रतिनिधिले राखेप सदस्य सचिव सिलवाल र स्वतन्त्र कमिटिका कानुनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग संयुक्त छलफल गर्न लागेको छन् ।
बैठक बिहान ११ बजेपछि काठमाडौंमा एक होटलमा सुरु हुनेछ ।
आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिले जिल्ला र प्रदेशको विवाद समाधान गर्दै केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि छनोट गरिसकेको छ । जिल्ला र प्रदेशको नेतृत्व चयन भएसंगै क्यानको केन्द्रिय निर्वाचनको तयारी अघि बढेको छ ।
असोज ३ र ४ गतेको केन्द्रिय निर्वाचन सफलतापुर्वक सम्पन्न भएमा क्यानमाथि लागेको आईसीसीको निलम्बन हट्नेछ ।