काठमाडौं । त्रिभुवन आर्मी क्लबका हरि रिमालले टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार भएको ८ किमिको दौडमा निर्धारित दुरी २६ मिनेट २९.८१ सेकन्डमा पुरा गर्दै रिमालले उपाधि जितेका हुन् ।
आर्मीकै दिपक अधिकारी २६ मिनेट ३०.८५ सेकेण्डको समय निकाल्दै दोस्रो भए । तेस्रो स्थानमा रहेका आर्मीकै गजेन्द्र राईले २६ मिनेट ३५.९० सेकेण्डमा दुरी पार गरे ।
उपाधिसँगै रिमालले ५० हजार,उपविजेता अधिकारीले २५ हजार र तेस्रो भएका राईले १५ हजार प्राप्त गरेका थिए ।
दौड सिटिसेन्टर,कमलपोखरी,पुतलीसडक,भृकुटीमण्डप,थापाथली,त्रिपुरेश्वर,सुनधारा,दरबारमार्ग,नागपोखरी हुदै नक्शालको टिभिएस सोरुममा आएर सकिएको थियो ।
स्वस्थ्यका लागि रमाईलो टिभिएस दशैं दौड भन्ने नाराका साथ भएको दौड युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गरेका थिए ।
विजेता खेलाडीलाई आयोजक जगदम्बा मोटर्स प्रालीका उपाध्यक्ष दिपक अग्रवाल,ओलम्पियन म्याराथन किर्तिमानी धावक बैकुण्ठ मानन्धर,अल्ट्राधाविका मिरा राई,आयोजक जगदम्बा मोटर प्रालीका बजार प्रमुख नवराज कोईरालालगायतले पुरस्कृत गरेका थिए ।
जगदम्बा मोटर प्रालीको ५ औं वर्ष गाठका अवसरमा दौड नेपालको सातै प्रदेशमा आयोजना गरिने बजार प्रमुख नवराज कोईरालाले जानकारी गराए ।