काठमाडौं । दक्षिण कोरियामा आयोजना हुने ‘छुन्जु वल्र्ड मार्शल आर्ट्स मास्टरसिप' मा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
दक्षिण कोरियाको छुन्जु शहरमा अगष्ट २७ देखि सेप्टेम्बर ७ सम्म आयोजना हुने प्रतियोगितामा २ महिला र ५ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालबाट अनुमाया तामाङ, सर्मिला तामाङ, नितेश घले, रोशनकुमार गुरुवाचार्य, रोवर्टो कपाली, बिवेक महर्जन र विकास बस्नेतले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको नेतृत्व दयाराम थापाले गर्ने छन् भने रेफ्रीमा अविरल बराल र अफिसियलमा सुमन श्रेष्ठ र सन्तोष खड्का रहेका छन् ।
प्रतियोगितामा जाने नेपाली टोलीलाई मंगलबार नेपाल योङमुदो संघले विदाई गरेको छ । नेपाली टोलीलाई प्रमुख अतिथि तथा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले विदाई गरेका थिए ।
सो अवसरमा मेयर गिरीले प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई शुभकामना दिदै पदक जिते चन्द्रागिरी नगरपालिकाले नगदसहित सम्मानित गर्ने बताए ।
प्रतियोगितामा विश्वका २८ वटा राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने संघका अध्यक्ष मोहन कार्कीले जानकारी गराए ।