एजेन्सी । अमेरिकी धावक क्रिस्टियन कोलम्यान प्रतिबन्धित औषधी प्रयोग (डोपिङ) परिक्षणमा असफल भएका छन् ।
विश्व एथ्लेटिक्स महासंघ र विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गरेको परिक्षणमा कोलम्यान असफल भएका छन् । पछिल्लो १२ महिनाभित्र गरिएको ३ पटकको डोपिङ प्रशिक्षणमा कोलम्यान असफल भएका हुन् ।
डोपिङ प्रशिक्षणमा असफल भएसँगै कोलम्यानलाई एक वर्षको प्रतिबन्ध लाग्न सक्ने भएको छ । एक वर्षको प्रतिबन्धमा परे कोलम्यानले कतारमा अर्को महिना हुने विश्व च्याम्पियनसिप र सन् २०२० को टोकियो ओलम्पिक गुमाउने छन् ।
२३ वर्षे युवा खेलाडी कोलम्यानले यसै वर्ष अमेरिकाको युएस नेसनल च्याम्पियनसिपमा १०० मिटरमा स्वर्ण जितेका थिए ।
विश्व एथलेटिक्समा कोलम्यानलाई उसेन बोल्टपछि सबैभन्दा ठुला स्टार खेलाडीको रुपमा हेरिएको छ ।