काठमाडौं । नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् ।
सिंगापुर पुलिस फोर्समा कार्यरत धावक निमेशले आइतबार भएको १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा स्वर्ण पदक जितेका हुन् ।
पहिलो पटक सहभागीता जनाएका निमेशले सहभागी ५५ देशका ५५ प्रतिस्पर्धीलाई पछि पारेका थिए । उनले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे ।
आयोजक चीनका नुफेङ दाई दोस्रो तथा भारतका गोभा राम दोस्रो भए । नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्डमामा पूरा गरेका थिए भने गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए ।
विश्वका आर्मी र पुलिस संगठनका धावकहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा निमेशको यो तेस्रो स्वर्ण पदक हो । निमेशले यसअघि हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा पनि स्वर्ण पदक जितेका थिए ।
दुई वर्षअघि अमेरिकामा भएको यसै प्रतियोगितामा पनि निमेशले हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा दुई स्वर्ण जितेका थिए ।
निमेश पछिल्लो दुई संस्करणदेखि सिंगापुर पुलिस फोर्सको सिफारिसमा यस प्रतियोगितामा सहभागी हुँदै आइरहेका छन्। सिंगापुर पुलिस फोर्सले सिफारिस गरेको भएपनि नेपाली पासपोर्टका कारण प्रतियोगितामा उनको देश नेपाल नै उल्लेख हुने गर्दछ ।