काठमाडौं । चीनमा जारी वल्र्ड पुलिस फायर गेम्समा नेपाली धावक निमेश गुरुङले दोस्रो स्वर्ण पदक जितेका छन् । आईतबार भएको १० किलोमिटरको क्रस कन्ट्रीमा निमेशले स्वर्ण जितेका हुन् ।
चीनको चान्दुकमा भएको प्रतियोगितामा निमेशले स्वर्णका लागि सहभागी ६० देशमा ७० भन्दा बढी खेलाडीलाई पछि पारेका हुन् । विश्वका विभिन्न देशका पुलिस र आर्मीका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागीता जनाएका हुन् ।
निमेशले शुक्रबार भएको हाफ म्याराथनमा पहिलो स्वर्ण जितेका थिए ।
क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो तथा आयोजक चिनको खेलाडी तेस्रो भए । निमेशले दुई वर्षअघि अमेरिकाको लस एन्जलसमा भएको वल्र्ड पुलिस फायर गेम्समा पनि दुवै स्पर्धामा स्वर्ण पदक जितेका थिए ।
उनले दुवै स्पर्धामा उपाधि रक्षा गरेका हुन् । प्रतियोगितामा निमेशले १० हजार मिटर ट्रयाक एण्ड फिल्डमा पनि प्रतिस्पर्धा गर्ने छन् । सो स्पर्धा आइतबार हुनेछ ।
‘प्रदर्शन पनि निक्कै राम्रो भयो । अन्य खेलाडीलाई निक्कै पछि छाडेको थिए ।’ चीनबाट निमेशले भने, ‘अवसर पाएको अवस्थामा अझै राम्रो गर्न सक्छु भन्ने अनुभव भएको छ ।’