काठमाडौं । अलिख नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका ट्रेनर विवेक बिक्रान्त अधिकारीलाई कारबाही गरेको छ ।
खेलाडीसंगको विवादको छानविन गर्न गठित समितिको प्रतिवेदनको आधारमा विवेकलाई राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
यस्तै घटनामा संलग्न गोलकिपर किरण चेम्जोङ सहितका खेलाडीलाई सचेत गराउने निर्णय भएको छ ।
अभ्यासको बिषयलाई लिएर ट्रेनर विवेक र खेलाडीबीच विवाद भएको थियो । सो क्रममा विवेक र गोलकिपर किरणबीच हातपातको अवस्था सिर्जना भएको थियो । सो क्रममा विवेकले तातो चिया किरणको मुखमा खनाएका थिए ।
घटनापछि किरण सहितका राष्ट्रिय टिमका खेलाडीले एन्फामा निवेदन दिदै विवेकलाई कारबाही गर्न माग गरेको थिए । सोही अनुसार एन्फाले विवेकलाई तत्काल फुटबल टिमको जिम्मेवारीमा नरहने गरि बाहिर राखेको थियो ।
र घटनाको बिषयमा छानविन गर्न कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिले विवेकलाई राष्ट्रिय टिमबाट तत्काल बाहिर राख्न र उनलाई निरन्तरता दिएको अवस्थामा दुर्घटना हुन सक्ने खतरा औल्याउँदै प्रतिवेदन पेश गरेको थियो ।
छानविन समितिको प्रतिवेदनका आधारमा विवेकलाई कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय एन्फाले गरेको हो । त्यस्तै खेलाडीमा समेत अनुसासनको समस्या देखिएको बताउँदै सचेत गराउने निर्णय भएको एन्फा प्रवक्ता किरण राईले खेलपाटीलाई बताए ।