काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले टेक्निकल डिरेक्टर (प्राविधिक निर्देशक)मा ग्यारी फिलिप्सलाई नियुक्त गर्ने भएको छ ।
अष्ट्रेलियाका फिलिप्सलाई एन्फाले नेपाली फुटबलको प्राविधिक निर्देशकको रुपमा नियुक्त गर्ने तयारी गरेको हो ।
एन्फाले फिलिप्सलाई करिब एक बर्षका लागि नियुक्त गर्न लागेको हो । टेक्निकल डिरेक्टरका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।
एन्फा र ग्यारीबीच कामको जिम्मेवारी र पाउने सेवा शर्तको बिषयमा सहमती बनेको एन्फाले एक अधिकारीले खेलपाटीलाई बताए ।
एन्फाले जेठ ३१ गते एक सुचना जारी गर्दै टेक्निकल डिरेक्टरको पदमा कर्मचारी माग गरेको थियो ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको पदपुर्ती समितिले प्राप्त निवेदनका आधारमा ग्यारीको नाम सिफारिस गरेको हो ।
टेक्निल डिरेक्टर लगायत विविध बिषयमा निर्णय गर्न एन्फाले मंगलबार दिउँसो केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक समेत बोलाएको छ ।
नेपाली फुटबलको विकास रणनीति तयार गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई प्राविधिक निर्देशक उपलब्ध गराउने बताएको थियो ।
टेक्निकल डिरेक्टरको रुपमा ग्यारीसंग एएफसीले समेत सम्झौता गर्नेछ । उनले प्राप्त गर्ने सम्पुर्ण सेवा सुविधा एएफसीले उपलब्ध गराउनेछ ।
टेक्निल डिरेक्टरको रुपमा ग्यारीले नेपाली फुटबलको रणनीतिदेखि खेल्ने शैलीको बिषयमा अनुसन्धान तथा विकास गर्नेछन् । ग्रास रुट फुटबलदेखि युवा फुटबल विकासको परियोजनाको रणनीति बनाउने जिम्मेवारी नयाँ टेक्निल डिरेक्टरको हुनेछ ।
प्रशिक्षणको तरिकादेखि विभिन्न रिपोर्टको अध्ययन गरेर नेपाली फुटबलको रणनीति बनाउने काम टेक्निल डिरेक्टरको हुनेछ ।
ग्यारीले मिडफिल्डरको रुपमा आफ्नो खेलाडी जिवन बिताएका थिए । उनले अष्ट्रेलियाको टिमबाट उमेर समुहको प्रतियोगिता खेलेका छन् ।
उनले एक दशक बढी लामो समय अष्ट्रेलियाको सिड्नी ओलम्पिक फुटबल क्लबमा बिताए । त्यसपछि उनले ब्रिसबन स्ट्राईकर्सबाट ब्यवसायिक फुटलब खेलेका थिए । उनले दुवै क्लबबाट उपाधि समेत जिते ।
फिलिप्सले टेक्निकल डिरेक्टरको रुपमा मलेसियन प्रिमियर लिग क्लबको समेत नेतृत्व गरेका थिए । उनीले पपुवा न्युगिनीको राष्ट्रिय महिला फुटबल टिमको समेत नेतृत्व गरेका थिए ।
उनले मलेसियन प्रिमियर लिगका विभिन्न क्लबको प्रशिक्षकको भुमिकामा समेत काम गरेका छन् ।