काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय 'एन्फा हाउस' को डिजाइन परिवर्तन गरिएको छ ।
'चेन्ज एन्फा'को नारासहित एन्फाको नेतृत्व सम्हाल्न आईपुगेका कर्मा छिरिङ शेर्पाको नेतृत्वले एन्फा भवनको डिजाईन परिवर्तन गरेको हो ।
एन्फाले यसै महिनाको अन्तिममा सक्नेगरि एन्फा हाउसको डिजाइन परिवर्तनको काम गरिरहेको छ । करिब ४ महिना अघिबाट सुरु भएको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ ।
एन्फा हाउसको भित्री भाग पूर्ण रुपमा परिवर्तन हुनेछ । बाहिरी भागमा भने कुनै पनि परिवर्तन गरिने छैन ।
एन्फाले फिफाले उपलब्ध गराएको बजेटले डिजाइन परिवर्तन गरिरेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार फिफाले भवन डिजाईनको लागि बजेट उपलब्ध गराएको छ ।
‘एन्फालाई घर डिजाईनको लागि फिफाले पैसा उपलब्ध गराएको छ,’ महासचिवले तुलाधरले भने ।
फिफाले एन्फालाई भवन डिजाईनको लागि २ लाख १८ हजार ३ सय २८ अमेरिकी डलर उपलब्ध गराएको हो । जसको नेपाली रकम २ करोड ५१ लाख ८६ हजार ७ सय ९६ रुपैया हुनेछ ।
पछिल्लो समय एन्फाको उच्च पदाधिकारीहरुबीच नै हाउस डिजाइनबारे विवाद आएको थियो । पदाधिकारीहरुले आफुले डेक्कापट्टा पाउनु पर्ने अडान राखेपछि विवाद भएको थियो ।
यस्तै सरकारको अनुमतिविना काम सुरु गरेको भनेर विवाद आएपछि डिजाइन काम रोकिएको थियो । तर, फिफाको सहयोगको बजेटमा सरकारी नियम लागु नहुने भएपछि पुनः भवन डिजाइनको काम सुरु भएको थियो ।
एन्फाले भित्रि भाग डिजाइनका लागि ७ कम्पनिलाई जिम्मा दिएको छ । छिटो र छरितो काम गर्नको लागि विभिन्न कम्पनीलाई जिम्मा दिएको एन्फाले जनाएको छ ।
‘छिटो साथै छरितो होस् भनेर हामीले विभिन्न कम्पनीलाई काम दिएका हौं ।’ महासचिव तुलाधरले भने ।
एन्फाले भवन डिजाइनका लागि इमिरि आर्किट, एसएस आउटडोर सर्भिस, म्याक इन्डोरिया, न्यू म्याक, विनित इन्टरनेसनल कम्पनी, विकम कम्पनी र न्यू टेक इन्टरनेशनल प्राईभेटलाई अनुमति दिएको छ ।
एन्फा हाउसको डिजाईन सुरुभएपछि एन्फाले विविध कार्यहरु रुपक स्मृति भवनबाट गर्दै आएको छ ।