काठमाडौं । एथ्लेटिक्सका युवा स्टार अजित यादवले नेपाल एथ्लेटिक्स संघले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पाएका छैनन् ।
हङकङमा भएको तेस्रो युथ एसियन च्याम्पियनसिपमा स्वर्ण जितेर सनसनी मच्चाएका अजितलाई एथ्लेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाहले मोटरसाईकल सहित मासिक रकम उपलब्ध गराउने घोषणा गरेका थिए ।
पुरस्कर रकम घोषणा भएको करिब चार महिना बितिसक्दा समेत अजितले घोषणा गरिएको पुरस्कार रकम पाएका छैनन् ।
एसियन च्याम्पियनसिपमा उनले ३ हजार मिटरको दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका थिए । उनले आफ्नो स्पर्धामा भारत र यमनका खेलाडीलाई पछाडी पार्दै एथ्लेटिक्सको ईतिहासमा कीर्तिमान रचेका थिए । यसअघि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन च्याम्पियनसिपमा नेपालका जितबहादुर केसीले काँस्य जितेका थिए ।
उनै अजितलाई चैत १२ गते एथ्लेटिक्स संघका अध्यक्ष शाहले एक भब्य कार्यक्रमको आयोजना गरेर एक मोटरसाईकल र पाँचवटा कर्पोरेट हाउसबाट १२ हजारका दरले मासिक ६० हजार उपलब्ध गराउने घोषणा गरिएको थियो ।
तर अजितले न त घोषणा गरिएको मोटरसाईकल पाएका छन्, न त डाईडका लागि भन्दै ५ कर्पोरेट हाउसबाट आउने मासिक ६० हजार रुपैयाँनै पाएका छन् । बरु घोषणा सभामा हस्तान्तरण गरिएको बाईकको 'डमी' साँचो समेत मोटरसाईकल कम्पनीले फिर्ता लिएको थियो ।
अध्यक्ष शाहकै पहलमा पाँच कर्पोरेट हाउसले मासिक १२ हजार रुपैयाँ एक बर्ष उपलब्ध गराउने घोषणा गरेका थिए ।
काठमाडौको एक पाँचतारे होटलमा भब्य कार्यक्रमको आयोजना गरेर घोषणा गरिएको पुरस्कार चार महिना बितिसक्दा समेत संघले उपलब्ध गराउन कुनै पहल गरेको छैन ।
संघका अध्यक्ष शाह पछिल्लो दुई सातायता वैदेशिक भ्रमणमा छन् । निर्वाचनको पुर्वसन्ध्यामा उनले अजितको सम्मान कार्यक्रमको आयोजना गरेका थिए । तर नेतृत्वमा आएपछि उनी घोषणा गरिएको पुरस्कार दिन उदासिन देखिएका छन् ।
संघका निर्वाचित कार्यसमिति सदस्य तेजेन्द्र थापाले घोषणा गरिएको पुरस्कार दिने बिषयमा आफुहरु गम्भिर रहेको बताए ।
‘खेलकुदको कार्यक्रममा सहभागी हुने अध्यक्ष बाहिर जानु भएको छ । उहाँ आउने बित्तिकै कार्यान्वयनमा गरिनेछ ।’ उनले खेलपाटीसंग भने ।
सदस्य थापाले पुरस्कार तुरुन्त उपलब्ध गराउन सबैले आग्रह गरेको भन्दै घोषणालाई तत्काल कार्यान्वयन गरिने जानकारी दिए ।
एसियन च्याम्पियनसिपमा स्वर्ण जितेर एथ्लेटिक्समा कीर्तिमान रचेका अजितको सम्मानमा प्रदेश सरकारले तत्काल ५ लाख उपलब्ध गराएको थियो । तर संघीय सरकारले मात्र एक लाख सहित अजितको सम्मान गरेको छ ।
एथ्लेटिक्स संघका पुर्व महासचिव सुनिल राजवंशीले पुरस्कार रकम घोषणा गर्नु राम्रो भएको उल्लेख गर्दै समयमा पुरस्कार दिन उपयुक्त हुने बताए ।
‘बाईक दिन ढिला भएपनि कर्पोरेट हाउसबाट आउने रकममा संघले पहल लिनपर्ने हो । घोषणा गरिएको पुरस्कार ढिला उपलब्ध हुदाँ त्यसले खेलाडीमा हौसला दिन सक्दैन ।’ उनले भने ।