काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली बक्सिङ खेल खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन् ।
नेपाल बक्सिङ संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले दक्षिण एसियामा कुनै समय नेपाली बक्सिङ पावर हाउसको रुपमा रहेको उल्लेख गर्दै खराब स्थितिमा आउनुको कारण खोजिनु पर्ने बताए ।
'नेपाली बक्सिङ साफमा च्याम्पियन थियो । एक समय पावर हाउस थियो । बीचमा बक्सिङ खस्कियो किन ? ,' सदस्य सचिव सिलवालले कार्यक्रममा भने, ' को दोषी छ ? संघ, खेलाडी कि अरु ? अब कारण खोजिनु पर्छ ।'
सदस्य सचिव सिलवालले नेपाल भन्दा सानो मुलुक क्युवाले बक्सिङ खेलमा राज गरिरहेको उदाहरण दिँदै नेपालले पनि बक्सिङमा राम्रो गर्न सक्ने बताए । सदस्य सचिव सिलवालले बक्सिङ विकासको लागि संघलाई सहयोग गर्न सधै तयार रहेको समेत बताए ।
'सानो देश क्युवाले ओलम्पिकमा मेडल ल्याउन सक्छ भने नेपालले किन सक्दैन ? नेपालले पदक ल्याउने बानी बसाल्नु पर्छ । पदक जित्ने बानी परे नेपालले अवश्य पदक ल्याउछ,' सदस्य सचिव सिलवालले थपे, 'बक्सिङ विकासको लागि नतिजामुखी भएर लाग्नुस् । मेरो सहयोग सधै रहन्छ ।'
यस्तै सदस्य सचिव सिलवालले बक्सिङ लगायत खेल संघमा राजीनितिक बढी घुसेको बताउँदै अब त्यसो नगर्न सुझाब दिए । संघले पछिल्लो समय खेलाडीको क्षमता वृद्धिको लागि गरेको प्रयास राम्रो रहेको समेत सदस्य सचिव सिलवालले बताए ।
'खेलकुदले नेपालको झण्डा र राष्ट्रिय धुन गुन्जन्छ । राजनीतिमा त्यस्तो हुँदैन । त्यसैले खेलकुदमा राजनीति नघुसाउनुस । सक्नु हुन्छ भने राजनीतिमा खेलकुद घुसाउनुस,' सदस्य सचिव सिलवालले थपे ।
कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले बक्सिङ संघको धमिराहरु खोज्ने बेला भएको बताए । उनले पछिल्लो समय बक्सिङले गति समातेको तर, त्यसले नपुग्ने समेत बताए ।
'बक्सिङमा किरा परेको छ । बक्सिङका धमिराहरु खोज्ने बेला भएको छ,' उपाध्यक्ष तिम्सिनाले भने, 'पछिल्लो समय बक्सिङ राम्रो हुँदै गएको छ । तर, यतिले पुग्दैन । बक्सिङको लागि के सहयोग गर्नु पर्छ राखेप सधै तयार छ ।'
तिम्सिनाले खेलकुद विवादरहित बनाउन राखेप लागिपरेको र त्यसको चाडै घोषणा गरिने समेत बताए ।
त्यस्तै बक्सिङ संघका अध्यक्ष राम अवालेले संघ नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न लागिपरेको बताए । उनले तयारीका लागि राष्ट्रिय टोलीका खेलाडीलाई थाइल्याण्ड पठाएको समेत जानकारी गराए ।
'सागमा हामीले पदक नजितेको धेरै समय भएको छ । हामीले नजर अहिले सागमा लगाएका छौँ । १३ औं सागमा पदक ल्याउने लक्ष्य छ । त्यसको लागि हामीले टिम थाइल्याण्ड पठाएको छौँ,' अध्यक्ष अवालेले भने ।
संघका बरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसीले सागका लागि नेपालले राम्रो तयारी गरिरहेको बताउँदै सागमा कम्तिमा ३ स्वर्ण जित्ने बताए ।
यस्तै कार्यक्रममा संघले नव नियुक्त सदस्य सचिव सिलवाललाई सम्मान पत्रसहित स्वागत गरेको थियो । कार्यक्रममा बक्सिङ खेलका ओलम्पियन,बक्सिङ खेलाडी,पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।