काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफमा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई प्रदेश सरकार र विराटनगर महानगरले सम्मान गर्ने भएको छ ।
महानगर र प्रदेश सरकारले सोमबार र मंगलबार दुई छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर साफमा उपविजेता बन्न सफल भएको महिला टिमलाई सम्मान गर्न लागेका हुन् ।
प्रदेश नम्बर एक सरकारले सागमा उपविजेता बनेको महिला टिमलाई जनही १ लाख रुपैयाँ घोषणा गरेको थियो । त्यस्तै विराटनगर महानगरले महिला टिमलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने बताएको थियो ।
पुरस्कार ग्रहणका लागि महिला टिम आजै (आईतबार) विराटनगर प्रस्थान गरेका छन् ।
सोमबार महानगर र मंगलबार प्रदेश सरकारले सम्मान कार्यक्रमको आयोजना गरेको एन्फा प्रवक्ता किरण राईले खेलपाटीलाई बताए ।
प्रदेश सरकारले साग जितेको खण्डमा महिला टिमका सदस्यलाई जनही २ लाख दिने घोषणा गरेको थियो । प्रदेश मुख्यमन्त्री शेरधन राईले फाईनल खेल अघि साग विजेता बन्न सफल भए प्रदेश सरकारले खेलाडीको सम्मानमा जनही २ लाख दिने निर्णय गराएका थिए ।
खेलाडीको हौसला बढाउन प्रदेश सरकारले सो निर्णय गरेको थियो । तर नेपाली टिम उपाधि बिमुख बनेपछि खेलाडीलाई एक लाख दिने प्रदेश सरकारले प्रतिबद्वता ब्यक्त गरेको थियो ।
प्रदेश मुख्य मन्त्री शेरधन राई सागको समापन समारोहका मुख्य अतिथि थिए ।
यता, सागको आयोजना गरेको विराटनगर महानगरले खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेको थियो । समापन समारोहमा मेयर भीम पराजुलीले महिला टिमले गरेको प्रर्दशनको उच्च मुल्याङ्कन गर्दै महानगरले जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको थिए ।
लामो तयारी सहित साग जित्ने उद्वेश्यले विराटनगर पुगेको नेपाली टिम पुन एक पटक उपविजेतामा सिमिति हुन पुगेको थियो । लिग चरणमा उत्कृष्ट प्रर्दशन गरेपनि फाईनल खेलको दोस्रो हाफमा नेपालले लय गुमाएको थियो ।
फाईनलको पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा पराजित हुन पुगेको थियो । तर नेपालको महिला टिमले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाले महिला सागको पाँचौ संस्करण विराटनगरमा आयोजना गरेको थियो । प्रतियोगिताको आयोजना र सञ्चालनमा विराटनगर महानगरले समेत ठुलो मात्रामा खर्च गरेको थियो ।