काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले नतिजा आउने खेललाई प्राथमिकतामा राख्ने बताएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सदस्य सचिव सिलवालले सबै खेललाई बराबरी प्राथमिकता दिन नसकिने प्रष्ट पारेका हुन् ।
‘पदक ल्याउने खेललाई एक प्रकारले हेर्न सकिन्छ । पदकको नजिक रहेको खेललाई थोरै कोशिश गर्न सकिन्छ । तर सबै खेललाई प्राथमिकता दिन सकिन्न ।’ उनले भने, ‘सबै खेललाई बराबरी भन्ने हुदैन । त्यो मुर्खता हो ।’
सदस्य सचिव शिलवालले अब खेलुकदमा म्यानपावर सप्लाई हुने काम नहुने समेत बताए ।
सहि खेलाडी र प्रशिक्षकले अवसर पाउनुपर्ने उल्लेख गर्दै उनले खेलाडीको नाममा बिदेशमा भाग्ने प्रवृतिले देशको बदनाम हुने खतरा रहेको औल्याए । उनले खेलकुदलाई सम्मानित क्षेत्र बनाउन सबैमा अपिल समेत गरे ।
सदस्य सचिव सिलवालले सागको तयारीमा देखिने गरि परिवर्तन भएको उल्लेख गर्दै प्रतियोगिता आयोजना गर्न सकिने अवस्थामा आफु पुगेको दाबी गरे ।
‘साग हुनेमा कोही विश्वस्त हुने अवस्था थिएन । अहिले सबै जना हुन्छ कि भन्ने अवस्थामा पुग्नु भएको छ । पुर्वाधारमा केही समस्या देखिएको थियो । अब तालिका सहित काम अघि बढ्छ ।’ उनले भने ।
‘पहिलो चुनौती साग हो । त्यसमा पनि पूर्वाधार हो । निर्माण कार्यमा संलग्न प्रत्येकलाई मैले समयमा काम सम्पन्न गर्न लिखित प्रतिबद्धता पत्र मागेको छु । साग हुन्छ । गर्ने पर्छ ।’ उनले थपे ।