काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले चन्द्र गुरुङलाई एथलेटिक्सको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
राखेपले बुधबार गुरुङलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक बिक्रम जङ थापाले अवकास पाएपछि रिक्त रहेको पदमा राखेपले गुरुङलाई जिम्मेवारी दिएको हो ।
प्रदेश नम्बर ५ को खेलकुद तालिम तथा प्रशिक्षण विभागको सहायक निर्देशक रहेका गुरुङले बुधबार प्रशिक्षक नियुक्तको पत्र बुझेको जानकारी दिए ।
'राखेपले रिक्त रहेको पदमा मलाई नियुक्त गरेको छ । मैले आज (बुधबार) पत्र बुझेको छु,' प्रशिक्षक गुरुङले खेलपाटीसँग भने ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि गुरुङले आफु नेपाली एथलेटिक्स खेलको विकासका लागि दत्तचित भएर काम गर्ने बताए ।
'हाम्रो एथलेटिक्समा धेरै राजनीतिकको कारण धेरै पछि परेको छ । एथलेटिक्स विकासमा धेरै बाधा अर्चन रहेको छ,' प्रशिक्षक गुरुङले भने, 'एथलेटिक्सको सुधार र विकासमा म तत्पर हुनेछु ।'
यस्तै मुख्य प्रशिक्षक गुरुङले एथलेटिक्स खेलको विकासको लागि उत्कृष्ट प्रशिक्षकहरु चयन गरेर राष्ट्रिय टिमको तयारी गर्ने समेत बताए ।