काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने खेलाडीलाई समेत सागको बन्द प्रशिक्षणमा राख्ने भएको छ ।
पहिलो चरणमा स्वर्ण पदक विजेता खेलाडीलाई समावेश गर्दै प्रारम्भिक प्रशिक्षण सुरु गरेको राखेपले आठौं राष्ट्रिय खेलकुदमा रजत जित्ने खेलाडीलाई समेत बन्द प्रशिक्षणमा सहभागी गराउने भएको हो ।
‘पहिलो चरणमा २० वटा खेलमा पहिलो हुने खेलाडीलाई मात्र नियमित प्रशिक्षणमा राखेका थियौ । अब दोस्रो चरणमा रजत जित्ने खेलाडी समेत सहभागी हुनेछन् ।’ राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईले खेलपाटीसँग भने ।
राखेपले पहिलो चरणमा २० खेलका पहिलो हुने खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा सहभागी गराएको थियो । अब दोस्रो चरणमा राखेपले सागमा सहभागी हुने २७ वटै खेलको बन्द प्रशिक्षण सुरु गर्नेछ ।
निर्देशक राईका अनुसार दोस्रो चरणको प्रशिक्षण साउनको पहिलो साताभित्र सुरु गर्ने राखेपको तयारी छ । प्रशिक्षणलाई थप व्यवस्थित र योजनाबद्व तरिकाले सञ्चालन गर्न राखेपले भोली (बुधबार) राष्ट्रिय खेलकुद संघका मुख्य प्रशिक्षकसंग छलफल गर्दैछ ।
सोमबार मात्र राखेपले सागमा सहभागी हुने राष्ट्रिय खेलका अध्यक्ष, महासचिव र मुख्य प्रशिक्षकसंग सागको तयारी र समस्याका बिषयमा अन्तरक्रिया आयोजना गरेको थियो ।
राखेपले पहिलो चरणमा २० खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरेको थियो । दोस्रो चरणमा बाँकी ७ खेललाई समेत प्रशिक्षणमा सहभागी गराईनेछ ।
प्रशिक्षण सुरु हुन बाँकी रहेका अधिकांश टिम गेम रहेका छन् । जसमा भलिबल, फुटबल, ह्याण्डबल, क्रिकेट, बास्केटबल, खोखो र कबड्डी रहेका छन् ।
खेलाडी संख्या र खेल स्थलको टुङ्गो लागेपछि बाँकी रहेका खेलको समेत प्रशिक्षण सुरु हुने राखेपले जनाएको छ ।
निर्देशक राईका अनुसार क्रिकेट बाहेक खेलकुद संघले अन्य सबै खेलका खेलाडीको संख्या राखेपमा बुझाईसकेका छन् ।
क्रिकेटको उमेर समूह निर्धारण हुन नसक्दा खेलाडी छनोट प्रक्रिया अघि बढ्न सकेको छैन ।