काठमाडौं । राष्ट्रिय खेलकुद संघका प्रतिनिधिले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक जित्न वैदेशिक प्रशिक्षणको माग गरेका छन् ।
सागको तयारीको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् राखेपले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खेलकुद संघका प्रतिनिधिले १३ औ सागमा सम्बन्धित खेलबाट पदक जित्न खेलाडीलाई वैदेशिक प्रशिक्षण आवश्यक रहेको बताएका हुन् ।
कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेतीले सागको तयारीका लागि विभिन्न चरणको प्रशिक्षण सुरु गरिएको जानकारी दिदै पदक जित्नका लागि वैदेशिक प्रशिक्षण आवश्यक रहेको बताए ।
‘पहिलो हुने खेलाडीलाई मात्र अभ्यासमा सहभागी गराएका छौ । हरेक स्पर्धामा कम्तिमा ४ खेलाडी राखेर अभ्यास गराउनुपर्छ । यदी आठौं सागको नतिजालाई दो¥याउने हो भने खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजानुपर्ने हुन्छ ।’ उनले भने ।
जुडो संघका अध्यक्ष दिपकहर्ष ब्रज्राचार्य एकेडेमीको अभावमा जुडोको नतिजा पछाडी परेको बताउँदै राम्रो प्रशिक्षण नहुदाँ नतिजा निकाल्न गाह्रो नहुने बताए ।
‘हामी कुनै समय भारतलाई जित्ने गर्दथ्यौ । अब भारतसंग हार्ने अवस्थामा पुग्यौ । एकेडेमीको अभावमा यसो भएको हो ।’ उनले थपे, ‘विदेशमा राखेर राम्रो प्रशिक्षण उपलब्ध गराउन सकियो भने पदक जित्न समस्या छैन ।’
राखेपले आसन्न सागलाई लक्षित गर्दै राष्ट्रिय संघले गरेको तयारी र समस्याको बिषयमा छलफल गर्न अन्तरक्रिया आयोजना गरेको थियो ।
अन्तरक्रियामा सागमा सहभागी हुने २७ वटै खेलका प्रतिनिधि सहभागी थिए ।
अधिकांश सहभागीले पदकका लागि खेलाडीको क्षमता अभिवृद्वी गर्न आवश्यक रहेको भन्दै वैदेशिक प्रशिक्षणमा सहयोग गर्न राखेपसंग अनुरोध गरेका थिए ।
खेल संघका प्रतिनिधिले सिमिति खेलाडी मात्र विशेष प्रशिक्षणमा सहभागी भएको बताउँदै पदकको सम्भावना भएका अन्य खेलाडीलाई समेत बन्द प्रशिक्षणमा समावेश गर्न माग गरेका थिए ।
राखेपले सागको तयारीका लागि ब्यक्तिगत स्पर्धाका खेलको विशेष प्रशिक्षण सुरु गरेपनि टिम गेम्सको प्रशिक्षण सुरु गर्न सकेको छैन ।
‘खेलाडी छनोट गरेर राखेका छौ । तर प्रशिक्षण सुरु गर्न पाएका छैनौ ।’ नेपाल खोखो संघका महासचिव सानुराजा शाक्यले भने, ‘प्रशिक्षणका लागि बर्दियामा मात्र हल छ । त्यहाँ समेत कबड्डीको प्रशिक्षण सुरु गर्ने तयारी गरेको बुझिएको छ । हामीले प्रशिक्षण गर्ने स्थलको स्थानको टुङ्गो लगाउन पर्यो ।’
उनले भारतबाट खोखोको प्रशिक्षक बोलाउने तयारी भएको भन्दै आवश्यक सहयोग गरिदिन राखेपसंग अनुरोध गरेका थिए ।
खेलकुद मन्त्री जगत विश्वकर्माले साग आयोजनामा सरकार प्रतिबद्व रहेको भन्दै घोषित मितिमा प्रतियोगिता आयोजना गर्न सरकार तयार रहेको बताए ।
मन्त्री विश्वकर्माले संघलाई जिम्मेवार र भुमिका दिएर साग आयोजना गरिने बताउँदै आवश्यक वातावरण भने सरकारले बनाउने उल्लेख गरेका थिए ।
राखेप सदस्य सचिव रमेश सिलवालले संघहरुको सुझाव कार्यान्वयन गर्न अन्तरक्रिया आयोजना गरिएको बताए । उनले समयमै प्रतियोगिताका लागि आवश्यक पुर्वाधार बनाउने प्रतिबद्वता ब्यक्त गर्दै संघहरुको उचित योजनालाई कार्यान्वयन गरिने उल्लेख गरे ।