काठमाडौं । ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत एथलेटिक्सको छात्रातर्फ दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।
प्रदेश ५ की संगीता अधिकारीले सटपुटमा ११.६८ मिटर टाढा फाल्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचिन् । संगीताले ३२ वर्षअघि (२०४४ साल) सपना मल्लले बनाएको ११.२३ मिटरको कीर्तिमान भंग गरेकी हुन् । ४ सय मिटर दौडमा प्रदेश ५ कै अरुणा रिजालले निर्धारित दूरी १ मिनेट १.०३ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको १ मिनेट ३ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । कीर्तिमानधारी दुवैले समान १० हजार नगद पुरस्कार पाउने छन् ।
छात्राको १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ की सीमा चौधरी (५ मिनेट १९.५ सेकेन्ड), लङजम्पमा प्रदेश ५ की सीमा चौधरी (४.८६ मिटर), १ सय मिटर दौडमा प्रदेश १ की नेहा चौधरी (१३.१० सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो भए ।
छात्रको सटपुटमा प्रदेश ५ का महेश चौधरी (११.७४ मिटर), लङजम्पमा प्रदेश ५ का सुदीप थारु (६.१० मिटर), ४ सय मिटर दौडमा सिमान्त पाण्डे (५१.४० सेकेन्ड), १ हजार ५ सय मिटर दौडमा प्रदेश ७ का केशर मास्के (४ मिनेट १८.८ सेकेन्ड) र ४ गुणा १ सय मिटर रिलेमा प्रदेश ५ पहिलो स्थानमा रहे । सिमान्तले १ सय मिटर दौडमा पनि स्वर्ण हात पारे । उनले निर्धारित दूरी ११.१७ सेकेन्डमा सकाए ।