काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीको पुरस्कार आगामी मंगलबार बाँड्ने भएको छ । प्रतियोगिता सम्पन्न भएको झण्डै तीन महिनापछि खेलाडीले पुरस्कार वापतको रकम पाउन लागेका हुन् ।
नवनियुक्त सदस्य सचिव रमेश सिलवालले अन्य बिषयको खर्च कटाएर भएपनि खेलाडीलाई पुरस्कार वापतको रकम चाँडो दिन खोजिएको बताए ।
‘कार्यभार सम्हालेको दिनबाटै खेलाडीले पाउनुपर्ने रकम दिनका लागि प्रक्रिया अघि बढाएको हुँ । खेलाडी र प्रशिक्षकलाई हौसला बढोस भनेर सुरुमै पुरस्कार दिन लागिएको हो ।’ उनले खेलपाटीसंग भने ।
राखेपले आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १५ हजार दिने घोषणा गरेको थियो । त्यस्तै समुहगतमा स्वर्ण जित्ने खेलाडीलाई ७ हजार दिने व्यवस्था छ । कीर्तिमान भंग गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ दिने राखेपले बताएको थियो ।
‘सबै खेलका पदक विजेता खेलाडी तथा प्रशिक्षक गर्दा करिब १८ सयको संख्या आउने रैछ । धेरै नकुराउने उद्वेश्यले सुरुमै पुरस्कार वितरण गर्न लागेका हौ ।’ सिलवालले भने ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीले समयमा पुरस्कार नपाउने नेपाली खेलकुदको पुरानै रोग हो ।
राखेपले यसपटक खेलाडीलाई नगद नभएर चेकमार्फत पुरस्कार वापतको रकम उपलब्ध गराउन लागेको छ । चेक लिन असमर्थ खेलाडी तथा प्रशिक्षकको बैंक खाता नम्बरमा पैसा राखिदिने राखेपले जनाएको छ ।
‘यसअघि ’क्यास’मा पैसा दिने परम्परा रैछ । अब खेलाडीले चेकमा पैसा पाउनेछ । पैसा लिन आउन नसक्ने खेलाडीलाई राखेपले उनीहरुकै बैंक खातामा पैसा हालिदिनेछ ।’ सदस्य सचिव सिलवालले भने ।
आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ को नेपालगञ्जमा गत बैशाखमा सम्पन्न भएको थियो । बजेटको ब्यवस्था नहुदाँ समेत विभिन्न शीर्षकका रकम रकमान्तर गरेर प्रतियोगिता आयोजना गरिएको थियो । रकम अभावका कारण खेलाडीले पदक जिते वापत पाउने रकम अनिश्चित बनेको थियो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ दिपक श्रेष्ठले पदक जित्ने बित्तिकै खेलाडीले पुरस्कार वापतको रकम पाउनुपर्ने बताए ।
‘पुरस्कार ढिला दिने निकै खराब प्रचलन छ । खेलाडीले जित्ने वित्तिकै पैसा पाउनुपर्ने हो । त्यसो भए मात्र पुरस्कारको महत्व हुन्छ । खेलाडीको मनोबल उच्च हुन्छ ।’ उनले खेलपाटीसंग गुनासो गरे ।