एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले इंग्ल्याण्डका ब्याट्सम्यान जासन रोयलाई जरिवाना गरेको छ ।
घरेलु मैदानमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको सेमिफाइनल खेलमा आईसीसीको नियम उलंघन गरेपछि रोय कारबाहीमा परेका हुन् ।
रोयले आईसीसीको लेभल १ को धारा २.८ नियम उलंघन गरेको बताईएको छ । रोयलाई ३० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।
जारी विश्वकपमा इंग्ल्याण्डका लागि सर्वाधिक रन बनाउने खेलाडी रोय अष्ट्रेलियाविरुद्ध एज लागेर आउट भएका थिए । तर, उनले फिल्डमा रहेका उम्पाएर कुमार धर्मसेनासँग आउट नभएको भन्दै असन्तुस्टी जनाएका थिए ।
रोयलाई आउट दिन धर्मसेनाले केहि समय लिएका थिए । रिप्लेमा हेर्दा रोयको बाटमा बलले छोएको थिएन । रिभिउ बाँकी नरहेको कारण रोयले मैदान छाड्नु परेको थियो । त्यसपछि रोय धर्मसेनासँग रिसाउदै मैदान छाडेका थिए ।
उक्त सेमिफाइनलमा पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्ड उपाधि नजिक पुगेको छ । अब इंग्ल्याण्डले उपाधिका लागि आइतबार न्युजिल्याण्डसँग खेल्नेछन् ।