काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अबदेखि बिमा विनाको प्रतियोगिता नहुने बताएका छन् ।
राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
‘खेलाडी, प्रशिक्षक, अफिसियलको विमा नगरिएको प्रतियोगिता मान्य हुँदैन । चाहे त्यो राष्ट्रिय प्रतियोगिता होस् वा अन्य प्रतियोगिता । विमा गर्नै पर्छ ।’ सदस्य–सचिव सिलवालले भने ।
सदस्य–सचिव सिलवालले खेलकुदलाई विवादको थलो बनाउन खोज्ने कुतत्वलाई सबै मिलेर सामाजिक बाहिष्कार गर्नु पर्ने धारणा व्यक्त गर्दै विगतमा भएका राम्रा कामलाई निरन्तरता दिने बताए ।
उनले बाहिरबाट हायर गरिएको व्यक्तिले नभइ परिषद्कै कर्मचारी स्वयंले आफ्नो संस्थालाई मजबुत बनाउनु पर्ने बताउदै आफ्नो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ र अनुशासित हुने बताए ।
‘यहाँ धेरै कर्मचारीहरुसंग लामो समय काम गरेको अनुभव छ । हायर गरेको व्यक्तिले होइन तपाईंहरुले नै परिषद्लाई मजबुत बनाउने हो ।’ सदस्य–सचिव सिलवालले भने– ‘मेरो कार्यकाल यस्तो हुन्छ भनेर भन्दिन । तर मेरो कार्यकाल पारदर्शी, परिणाममुखी, स्वच्छ, अनुशासित हुन्छ ।’
राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आफ्नो सिंगो अनुभव खेलकुदको विकासमा प्रयोग गर्ने बताउदै वर्तमान सदस्य–सचिवलाई खेलकुदको हितका निम्ति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
निवर्तमान सदस्य–सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) राष्ट्रकै प्रतिष्ठासंग जोडिएको विषय भएकाले समयमै हुनु पर्नेमा जोड दिदै यस विषयमा वर्तमान सदस्य–सचिव पनि सचेत रहेको बताए ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलकुदलाई माया गर्ने र खेलकुद बुझेको व्यक्तिलाई सदस्य–सचिव बनाएर पठाएकोमा नेपाल सरकारलाई धन्यवाद दिए । उनले निवर्तमान सदस्य–सचिव विष्टको कार्यकालमा पनि धेरै राम्रा कामहरु भएको बताए ।
राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले लामो समयदेखि रोकिएको कर्मचारीहरुको बढुवाका लागि वर्तमान सदस्य–सचिवलाई पहल गरिदिन आग्रह गर्दै करार कर्मचारीहरुलाई स्थायी गर्ने विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताए ।