एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले घरेलु टोलीलाई जितका लागि २२४ रनको सामान्य लक्ष्य दिएको छ ।
बर्मिघममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनायो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गरेको अष्ट्रेलियाले मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पूर्व कप्तान स्मिथले चौथो विकेटका लागि एलेक्स केरीसँग १०३ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । केरी ४६ रनमा आउट भए ।
यस्तै अष्ट्रेलियाका मिचेल स्टार्कले २९ र ग्लेन म्याक्सवेलले २२ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्याण्डका क्रिस वोक्स र आदील रशिदले समान ३/३ विकेट हात पारे । जोफ्रा आर्चरले २ विकेट लिए ।
दुईबीचको विजेताले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछन् ।