एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको छ ।
म्यानचेस्टरमा वर्षाले प्रभावित गरेपछि मंगलबार भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको हो । अब स्थगित खेल रिजर्भ डेको दिन भोलि (बुधबार) यहि स्थितिबाट पुन: खेलाईनेछ ।
आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। खेल पुरै ५०-५० ओभरकै हुनेछ।
बुधबार पनि खेल हुन नसकेमा भारत फाइनल पुग्नेछ। लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ ।
ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।
न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए ।
भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट हात पारे ।
विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।
यस अघि भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो ।