काठमाडौं । सिन्धुलीकी ओसिका केसी र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् ।
ओसिकाले ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्दिहरुलाई पाखा लगाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । यस्तै पुरुष ५५ केजी तौलमा शेरबहादुरले स्वर्ण हात पार्न सफल भए ।
कपनस्थित बालउद्धार मा.बि.को हलमा भएको प्रतियोगितामा महिला तर्फको ५२ केजीमा सिन्धुपाल्चोककी सविता पण्डित, ५७ केजीमा बागलुङ्गकी कृति शर्मा, ६३ केजीमा खोटाङ्गकी कविता राई र ७८ केजीमा भक्तपुरकी जयन्ति श्रेष्ठ आ आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएका छन् ।
यस्तै पुरुष तर्फको ६० केजीमा बागलुङ्गका उमेश मगर, ६६ केजीमा सोलुखुम्बुका आशिष खुलुङ्ग राई र ७३ केजीमा काठमाण्डौका उपेन्द्र थापाले स्वर्ण हात पारे ।
महिलातर्फ ५ र पुरुषतर्फ ४ गरि कुल ९ स्वर्ण पदकका लागि १३ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले उद्घाटन गरेका थिए । सदस्य सचिव बिष्टले छोटो समयमानै संघले अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराउनुका साथै राष्ट्रिय प्रतियोगितामा मार्फत उच्च खेलाडीहरु उत्पादनका साथै बैदेशिक प्रतियोगितामा पदक हासिल गर्ने सम्भावित खेल रहेको बताए ।
संघका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख रिम रानाभाट, राष्ट्रिय टिम तयारीका प्रमुख अर्जून बि.क.को उपस्थिती रहेको थियो ।