काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दोस्रो जित हासिल गरेको छ।
बिहीबार रााति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बेंगलुरु विजयी भएको हो। २५ मार्चमा पञ्जाब किंग्सलाई ४ विकेटले हराएपछि बेंगलुरुले ठिक एक महिनापछि दोस्रो जित हासिल गरेको हो।
पुछारमा रहेको बेंगलुरुले ९ खेलबाट ४ अंक जोडेको छ। ८ खेल खेलेको हैदरावाद १० अंकसहित शीर्ष ३ मा रहेको छ।
बेंगलुरुले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो।
हैदरावाद शाहबाज अहमदले अविजित रहँदै सर्वाधिक ४० रन बनाए। ३७ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे। कप्तान प्याट कमिन्स ३१ र ओपनर अभिषेक शर्मा ३१ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
बेंगलुरुका स्वप्रिल सिंह, करण शर्मा र क्यामरुन ग्रिनले २/२ विकेट लिए। विल ज्याक्स र यश दयालको नाममा १/१ विकेट रह्यो।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।
बेंगलुरूका ओपनर विराट कोहलीले सर्वाधिक ५१ रन बनाए। ४३ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए।
रजत पाटिदार ५० र कप्तान फाफ डुप्लेसिस २५ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३७ रनमा अविजित रहे।
हैदरावादका जयदेव उनाडकटले सर्वाधिक ३ विकेट लिए। टी नटराजनले २ विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेको नाममा १/१ विकेट रह्यो।