काठमाडौँ। इङ्लिस प्रिमियर क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफूहरू च्याम्पियन्स लिगका लागि पनि असुरक्षित रहेको बताएका छन्। सन् २०१० पछि गुडिसन पार्कमा पहिलो मर्सीसाइड डर्बी पराजित भएपछि उनले उक्त कुरा बताएका हुन्।
जाराड ब्रान्थवेट र डोमिनिक क्याल्भर्ट लेविनले गोल गरेपछि एभर्टनले उपाधि दौडमा रहेको लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको थियो।
'हामी च्याम्पियन्स लिगका लागि पनि सुरक्षित छैनौँ। त्यसैले हामीले राम्रो फुटबल खेल्नुपर्छ। यद्यपि, हामी लक्ष्य हासिल गर्न हतारमा छौँ,' उनले भने।
खेलको २७औँ मिनेटमा जाराडले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। ५८औँ मिनेटमा डोभिनिक क्याल्भर्ट लेविनले गोल गर्दै खेल २-० मा पुर्याए। त्यसपछि लिभरपुल खेलमा फर्किन सकेन र आर्सनललाई उछिन्दै शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमायो।
जितसँगै १६औँ स्थानमा रहेको एभर्टनले ३४ खेलबाट ३३ अंक जोडेको छ। योसँगै एभर्टनले रेलिगेशनबाट बच्ने सम्भावना बढाएको छ। रेलिगेशन जोनमा रहेको लुटन टाउनसँग एभर्टनले ८ अंकको अग्रता लिएको छ।
पराजित लिभरपुलको समान खेलबाट ७४ अंक रहेको छ। लिभरपुल शीर्ष स्थानको आर्सनलसँग ३ अंकले पछि परेको छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अंक रहेको छ। सिटी तेस्रो स्थानमा छ।
क्लोपले आफूले कहिल्यै हार नमानेको बताए। यद्यपि, एभर्टनविरुद्धको खेलमा राम्रो गर्न नसकेको भन्दै समर्थकसँग माफी मागे। उपाधिको दौड सकिएको छ कि भनेर सोध्दा क्लोपले सिटी र आर्सनलको नतिजामा लिभरपुल निर्भर रहने बताए।