काठमाडौँ। रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
आइतबार साँझ सम्पन्न खेलमा चेन्नई २८ रनले विजयी भएको हो। जितसँगै तेस्रो स्थानमा रहेको चेन्नईले ११ खेलबाट १२ अंक जोडेको छ। समान खेलबाट ८ अंक रहेको पञ्जाब आठौँ स्थानमा छ।
चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो।
पञ्जाबका प्रभसिमरन सिंहले सर्वाधिक ३० रन बनाए। २३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।
शशांक सिंह २७ र राहुल चाहर १६ रनमा आउट हुँदा हरप्रीत बराड १७ र कगिसो रबडा ११ रनमा अविजित रहे।
चेन्नईका जडेजाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। सिमरजीत सिंह र तुषार देशपाण्डेले २/२ विकेट लिँदा शार्दुल ठाकुरको नाममा १ विकेट रह्यो।
त्यसअघि हिमाचल प्रदेश क्रिकेट एसोसिएशन स्टेडियम टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो।
चेन्नईका जडेजाले सर्वाधिक ४३ रन बनाए। २६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। कप्तान ऋतुराज गायकवाड ३२, डेरिल मिचेल ३०, मोइन अली १७ र शार्दुल ठाकुर १७ रनमा आउट हुँदा रिचर्ड ग्लीसन २ रनमा अविजित रहे।
पञ्जाबका राहुल चाहर र हर्षल पटेलले ३/३ विकेट लिए। अर्शदीप सिंहले २ विके लिँदा १ विकेट साम करनको नाममा रह्यो।