काठमाडौँ। मनिता तुम्रोकको दुई गोलप्रेरित कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा बिहीबार सम्पन्न खेलमा कोशीले लुम्बिनीलाई ३-० गोल अन्तरले पराजित गरेको हो। जारी लिगमा अपराजित रहने टोली कोशी मात्रै हो। शीर्ष स्थानमा रहेको कोशीले ४ खेलमा १२ अंक जोडेको छ।
पाँचौँ स्थानमा रहेको लुम्बिनीको ३ खेलबाट ३ अंक मात्रै रहेको छ। खेलको २३औँ मिनेटमा सञ्जुमाया तामाङले गोल गर्दै कोशीलाई शुरूआती अथ्रता दिलाएकी थिइन्।
३९औँ मिनेटमा मनिताले गोल गर्दा कोशीले खेलमा २-० को अग्रता कायम गरेको थियो। ५७औँ मिनेटमा मनिताले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। त्यसपछि खेलमा कुनै गोल हुन सकेन।