काठमाडौँ। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को मिचेल मार्सको स्थानमा अफगानिस्तानका अलराउन्डर गुलबादिन नाइबलाई अनुबन्ध गरेको छ।
मार्स चोटका कारण प्रतियोगिताबाट बाहिर छन्। मार्स अहिले दाहिने खुट्टामा ह्यामस्ट्रिङको समस्याबाट निको भइरहेका छन्। यो चोटबाट निको भएपछि उनी भारत फर्किने छैनन्। उनी अस्ट्रेलियामै रहनेछन्।
नाइबले अफगानिस्तानका लागि ८२ ओडीआई र ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। दाहिने हातले ब्याटिङ गर्ने र दाहिने हातले मध्यम गतिको बलिङ गर्ने नाइबका लागि आईपीएलमा सहभागी हुने यो पहिलो अवसर हुनेछ। उनलाई आधार मूल्य ५० लाखमा अनुबन्ध गरिएको हो।
मार्सले यो सिजन दिल्लीका लागि ४ खेल मात्र खेल्न सके। जसमा उनले ६१ रन मात्र बनाएका थिए। ३ इनिङ्समा उनको उच्च स्कोर २३ थियो। यसबाहेक ८ ओभर बलिङ गर्दा उनले १२.८७ को इकोनोमीमा एक विकेट लिए।
सन् २०२३ मा पनि उनले दिल्लीका लागि ९ खेल मात्र खेलेका थिए। दिल्ली हाल ४ जित र ५ हारसहित अंक तालिकाको छैटौँ स्थानमा छ। यद्यपि, दिल्लीले अझै ५ खेल खेल्न बाँकी छन् र प्लेअफको सम्भावना जीवितै छ।