काठमाडौँ। अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी–२० विश्वकपमा आतंकवादी हमलाको खतरा रहेको बताइएको छ।
ट्रिनिडाडका प्रधानमन्त्री डा किथ राउलीले उक्त खुलासा गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि यसको पुष्टि गरेको छ। यद्यपि, आईसीसीले यस्तो खतरासँग लड्नका लागि पूर्ण सुरक्षा योजना रहेको बताएको छ।
यस प्रतियोगितामा कुल २० टोलीले भाग लिनेछन्। विश्वकपका खेलहरू ९ शहरमा खेलाइने छ। जसमध्ये ६ वेस्ट इन्डिज (एन्टिगा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिसेन्ट र द ग्रेनाडा) र ३ अमेरिका (फ्लोरिडा, न्यूयोर्क, टेक्सास) मा छन्। भारत र पाकिस्तानबीचको खेल जुन ९ मा न्यूयोर्कमा हुनेछ ।
राउलीका अनुसार वेस्ट इन्डिजमा हुने खेलमा आतंकवादी खतरा रहेको छ । ट्रिनिडाड डेली एक्सप्रेससँग कुरा गर्दै उनले भने,‘२१औँ शताब्दीमा पनि आतंकवादको खतरा धेरै रूपहरूमा कायमै छ। जुन दुर्भाग्यपूर्ण छ। विश्वकपमा हमला गर्ने चेतावनी पनि दिइएको छ।’ तर, राउलीले यस चेतावनी कसले दियो भन्नेबारे खुलाएनन्।
आईसीसीले सबैको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताएको छ। ‘हामीसँग यसको सामना गर्नको लागि एक योजना छ। हामी आयोजक देश र स्थानीय अधिकारीहरूसँग धेरै नजिकबाट काम गरिरहेका छौँ,’ उनले भने।
क्रिकेट वेस्ट इन्डिजले पनि प्रतियोगिताका क्रममा कडा सुरक्षा दिने बताएको छ।