विराटनगर। सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपीएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झापा सुरुगाको कनकाई स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा २–० गोल अन्तरमा पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो।
टाइब्रेकरमा एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङ गोल गर्न चुके। झापाका अनोज मगर, सञ्जीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार बेहोर्नु पर्यो। प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक सुजन बिकले ३ हजार रुपैयाँ प्राप्त गरे। खेलमा दुवै टोलीबाट गोलका धेरै अवसर पाउँदा सदुपयोग गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गर्नु पर्यो।
खेल शुरू भएको २९औँ मिनेटमा झापाका मिरक लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ६०औँ मिनेटमा झापाका खेलाडीले डिबक्सभित्र एपीएफका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी भएको थियो। एपीएफले पाएको पेनाल्टीमा हरि कार्कीले गोल गरेका थिए।
प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ।