एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले साबिकको विजेता वायर्न म्युनिखलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले वायर्नलाई ३ - २ ले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर डर्टमण्डले जित निकालेको हो । डर्टमण्डका लागि मार्को रिउसले दुई गोल गरे । यस्तै पाको अल्कासरले एक गोल थपे । वायर्नका दुवै गोल रोबर्टो लेवान्डोस्कीले गरे ।
पहिलो हाफको २६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रिउस चम्कदा डर्टमण्डले पुनरागमन गर्यो ।
खेलको ४९ औं मिनेटमा रिउसले पेनाल्टीमा गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई पुन २ - १ को अग्रता दिलाए ।
६७ औं मिनेटमा रिउसले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः डर्टमण्डलाई खेलमा फर्काए । त्यसपछि खेलको ७३ औं मिनेटमा अल्कासरले गोल गर्दै डर्टमण्डलाई ३ - २ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै शीर्ष स्थानको डर्टमण्डले ११ खेलबाट २७ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानको बोरुसिया मोन्चेनग्लादवाड भन्दा ४ अंकले अघि छ ।
पराजित वायर्न २० अंक जोडेर तेस्रो स्थानमा छ । हारसंगै वायर्नले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । वायर्नको यो तेस्रो हार हो ।