काठमाडौँ। सन् १९८६ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै डिएगो म्याराडोनालाई प्रदान गरिएको गोल्डेन बल ट्रफी फेला परेको छ। यस बललाई अर्को महिना पेरिसस्थित एगुट्स हाउसले अक्सनमा राख्ने भएको छ।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले मेक्सिको सिटीमा भएको फाइनलमा पश्चिम जर्मनीमाथि ३–२ गोल अन्तरको पराजित गरेको थियो। फाइनलअघि उनले इङ्ग्ल्यान्डविरुद्ध दुई अविस्मरणीय गोल गरेका थिए। जसमा विवादास्पद ह्यान्ड अफ गड गोल पनि समावेश थियो।
म्याराडोनाले सन् १९८६ मा च्याम्प्स–एलिसेसको लिडो क्याबरेमा आयोजित एक समारोहमा गोल्डेन बल प्राप्त गरेका थिए। यो गोल्डेन बललाई नेपल्स बैंकको सेफमा राखिएको थियो। उक्त बल सन् १९८९ स्थानीय लुटेरहाहरूले लुटेका थिए। त्यतिखेर म्याराडोना इटालियन लिग खेलिरहेका थिए।
जुन ६ मा हुने अक्सनमा भाग लिनका लागि १ लाख ५० हजार युरो (१ लाख ६१ हजार अमेरिकी डलर) जम्मा गर्नुपर्नेछ। स्मरण रहोस् म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा निधन भएको थियो।