काठमाडौँ। पेरिस सेन्ट जर्मन (पीएसजी)लाई पराजित गर्दै बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको उपाधिनजिक पुगेको छ।
पार्क डेस प्रिन्सेसमा मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा घरेलु टोली पीएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै डर्टमुन्ड फाइनलमा पुगेको हो। समग्रमा डर्टमन्डले पीएसजीमाथि २-० गोल अन्तरको जित हासिल गर्यो।
पहिलो लेगमा पनि डर्टमन्टले पीएसजीलाई १-० गोल अन्तरले नै पराजित गरेको थियो। सिग्नल इडुना पार्क भएको खेलमा निकलस फुलक्रगले निर्णायक गोल गरेका थिए।
मंगलबारको खेलमा डर्टमन्डका लागि एकमात्रै गोल म्याट्स हुम्लेसले गरे। उनले खेलको ५०औँ मिनेटमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए।
डर्टमन्डले लन्डनमा हुने फाइनलमा स्पेनिस क्लब रियल मड्रिड या जर्मन क्लब बायर्नसँग खेल्नेछ। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए। बुधबार यी दुई टोलीले रियलको मैदानमा दोस्रो लेग खेल्नेछन्।