काठमडौँ। सन् २०२७ को महिला विश्वकप ब्राजिलमा हुने सम्भावना बढेको छ। ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम)ले दावेदारी प्रस्तुत गरेका थिए।
फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा अन्य राष्ट्रको तुलनामा ब्राजिलले उच्च अंक पाएको छ।
फिफा कंग्रेसले मे १७ मा बैंककमा हुने आफ्नो बैठकमा प्रस्तावमाथि मतदान गर्नेछ। फुटबलको गभर्निङ बडीका सदस्यले प्रतियोगिताको आयोजक तय गर्न खुला मतदान गर्न लागेको यो पहिलो पटक हो।
प्राविधिक मूल्यांकनको आधारमा ब्राजिललाई ५ मध्ये ४.० को औसत अंक दिइएको छ। जर्मनी, नेदरल्यान्ड्स र बेल्जियमले ३.७ अंक प्राप्त गरेका छन्।
संयुक्त राज्य अमेरिका र मेक्सिकोले गत हप्ता आफ्नो दावेदारी फिर्ता लिएका थिए। युएस सकरले सन् २०३१ को प्रतियोगिता आयोजना गर्न आफू मातहतका सबै संघ केन्द्रित हुने जनाएको छ। दक्षिण अफ्रिकाले पनि सन् २०३१ मा फर्कने भन्दै गत वर्षको अन्त्यमा आफ्नो दावेदारी फिर्ता लिएको थियो।
ब्राजिलले सन् १९५० र २०१४ मा पुरुष विश्वकप आयोजना गरेको थियो। महिला विश्वकप दक्षिण अमेरिकी मुलुकले कहिल्यै आयोजना गरेको छैन।
जर्मनीले सन् २०११ मा महिला विश्वकप आयोजना गरेको थियो। सन् २०२३ को महिला विश्वकप अस्ट्रेलिया र न्यूजिल्यान्डमा आयोजना गरिएको थियो। जुन पहिलो पटक दुई राष्ट्रले आयोजना गरेका थिए।