काठमाडौँ। राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई अम्पायरसँग बहस गरेको भन्दै जरिबाना सुनाइएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले उनलाई म्याच फीको ३० प्रतिशत जरिबाना लगाएको हो। दिल्ली क्यापिटल्सविरुद्धको खेलमा शाइ होपबाट क्याच आउट भएपछि उनी अम्पायरसँग विवादमा उत्रिएका थिए।
इनिङ्सको १६औँ ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जुले शट प्रहार गरेका थिए। उक्त बल सिधा बाउन्ड्री लाइनतर्फ जाँदै थियो। तर, बाउन्ड्री लाइनमा रहेका शाइ होपले क्याच लिए।
यस क्रममा उनले आफूलाई ब्राउन्ड्री लाइनमा छुनबाट जोगाएको देखियो। त्यसैले अम्पायरले समय खेर फालेनन् र सञ्जुलाई आउट दिए। सञ्जुपनि डगआउटतिर लम्किसकेका थिए।
यस क्रममा उनको क्याच आउटको भिडिओ रिप्लेमा प्ले भयो। त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जु फर्किएर अम्पायरसँग कुरा गर्न आए। यस खेलमा राजस्थानका कप्तानले ४६ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ८६ रन बनाएका थिए।