एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध मंगलबार भएको खेलमा भारतीय ब्याट्सम्यान रोहित शर्माले शतकीय इनिङ्स खेलेका थिए ।
रोहितको शतकसंगै भारत बंगलादेशलाई २८ रनले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा पुगेको थियो । उक्त खेलमा रोहितले छक्का प्रहार गरेको बलले स्टेडियममा रहेकी एक भारतीय समर्थकलाई लागेको थियो ।
रोहितको बलले समर्थकलाई लागेको भिडियो स्टेडियममा रहेको ठुलो स्क्रिनमा समेत देखाइएको थियो । सो भिडियो क्रिजमा रहेका ब्याट्सम्यान रोहितले पनि हेरेका थिए ।
खेलपछि भने रोहितले बलले लागेको समर्थक मिनालाई अटोग्राफसहित पहेलो रंगको टोपी उपहार दिए । रोहितबाट अटोग्राफ टोपी पाउँदा मिना निकै खुसी देखिएकी थिईन् ।
उक्त खेलमा रोहित म्यान अफ द म्याच समेत घोषित भएका थिए । आठ खेलमा ३ पटक म्यान अफ द म्याच घोषित रोहितले सचिन तेन्दुलकरको एक विश्वकपमा ३ म्यान अफ द म्याच बनेको रेकर्ड समेत बराबरी गरेका छन् ।
रोहितको जारी विश्वकपमा यो चौथो शतक समेत हो । यससंगै उनले सौरभ गांगुलीको रेकर्ड तोडेका छन् । एकै विश्वकपमा ४ शतक प्रहार गर्ने रोहित पहिलो भारतीय खेलाडी हुन् ।
यस अघि पूर्व भारतीय कप्तान सौरभ गांगुलीले २००३ को विश्वकपमा ३ शतक प्रहार गरेका थिए ।