एजेन्सी । सबैको नजर विश्वकपको सेमिफाईनल पुग्ने टोलीमा छ । अनि टोलीमा आबद्ध खेलाडीमा । सेमिफाईनलको पहिलो खेल सुरु हुँदै गर्दा सबैको नजर बेल्जियम र फ्रान्सका युवा स्टारमा अड्किएको छ ।
समूह चरण र नकआउट चरणबाटै ठुला स्टार बाहिरिदा सबैको ध्यान युवा स्टारले खिच्न सफल भए । सेमिफाईनल पुग्ने दुवै टोलीका युवा स्टारले आफुलाई विश्वकपमा प्रमाणीत गर्ने कोशिश गरेका छन् । तीनै मध्येका दुई खेलाडी आजको रातमा चम्किन सक्नेछन् ।
प्लेयर्स टु वाच :
केभिन डि ब्रोयन – (बेल्जियम)
बेल्जियमलाई विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गराउन केभिन डी ब्रोयनले महत्वपुर्ण भुमिका निर्वाह गरे । सन् २०१४ को ब्राजिल विश्कपमा होस् वा सन् २०१६ को युरो कपमा आफुलाई प्रमाणीत गर्दै आएका ब्रोयनले रुसी विश्वकपमा समेत गज्जबको प्रर्दशन गरिरहेका छन् ।
सन् २०१० बाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेको उनले ६६ क्याप जित्दै १५ गोल गरिसकेका छन् । प्लेमेकरको रुपमा चिनिने ब्रोयन, ब्यवसाययिक फुटबल भने इङ्लिस क्लब म्यानचेष्टर सिटीबाट खेल्छन् । सन् २०१७÷१८ को प्रिमियर लिगमा सिटीलाई जिताउन उनले प्रेरणादायी भुमिका खेले । उनले लिगमा सर्वाधिक पास सिर्जना गर्ने रेकर्ड समेत आफ्नो नाममा लेखाए । उनले ३७ खेलमा ८ गोल समेत गरेका थिए । च्याम्पियन्स लिगका ८ खेलमा १ गोल गर्दै उनले ४ अवसरको सिर्जना गरेका थिए ।
२७ बर्षिय सेन्टर अट्याकिङ मिडफिल्डरले रुसी विश्वकपमा ४ खेलमा ३ सय ६० मिनेटनै खेल्दै एक गोल गरेका छन् । एक गोलको अवसर सिर्जना गरेका छन् । ब्राजिलविरुद्धको उनको एक गोल विश्वस्तरीय नै थियो । लामो दुरीमा बल खेल्न सक्ने खुबी भएका ब्रोयनमा बल टार्केट गर्ने अनि नियन्त्रण गर्ने गज्जवको खुबी छ । उनको उच्चस्तरको प्रर्दशनले निरन्तरता पाए फ्रान्सेली डिफेन्स लाईनलाई आज कुनै पनि समय समस्यामा पार्न सक्छ ।
केलियन एम्बाप्पे (फ्रान्स)
फ्रान्सेली फुटबलका युवा स्टार हुन केलियन एम्बाप्पे । किशोर अवस्थामा नै आफ्नो निखारिएको प्रतिभाबाट फ्रान्सलाई सेमिफाइनलसम्मको यात्रा तय गराउन उनले विशेष भुमिका खेले । रुसी विश्वकपमा १९ बर्षका उनले ५ खेलमा ३ गोल गरिसकेका छन् ।
नकआउट चरणमा उनले अर्जेन्टिनाविरुद्ध गरेको दुई गोलले निकै चर्चा समेत भएको थियो । ब्यवसायिक रुपमा घरेलु लिगमा ब्यस्त रहने एम्बाप्पेले गत सिजनमा पेरिस सेन्ट जर्मनलाई लिग वान च्याम्पियन बनाउने क्रममा १३ गोल गरे ।
एकवर्ष अघि मात्रै अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका उनले १७ क्याप जित्दै ७ गोल गरिसकेका छन् । तिव्र गति, बल फिनिसिङमा अब्बल एम्बाप्पे बल नियन्त्रण गर्न, लामा सट खेल्न माहिर छन् । सेमिफाईनलमा फ्रान्सको नतिजामा धेरै हदसम्म एम्बाप्पेको प्रर्दशनमा निर्भर हुन सक्छ ।