समस्यामा रियल
-1778235936203.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडका मिडफिल्डर फेडेरिको भाल्भेर्डेले टाउकोमा चोट बोकेका छन्।
क्लबले बिहीबार प्रशिक्षणका क्रममा सहकर्मी औरेलियन टचुआमेनीसँग भएको विवादपछि उक्त घटना भएको जनाएको छ। यो घटना यसै साता प्रतिद्वन्द्वी बार्सिलोनाविरुद्ध हुने महत्त्वपूर्ण खेलअघि भएको हो।
यो घटनाले यस सिजन समस्याग्रस्त बनेको मड्रिडमा थप तनाव सिर्जना गरेको छ। टोलीले कमजोर प्रदर्शन, प्रशिक्षक परिवर्तन तथा समर्थकहरूको आलोचना सामना गरिरहेको छ। विशेषगरी भिनिसियस जुनियर, जुड बेलिङ्घम र किलियन एम्बाप्पेजस्ता खेलाडी आलोचनाको केन्द्रमा छन्।
आइतबार हुने ‘एल क्लासिको’ मा बार्सिलोनाले बराबरी मात्रै खेले पनि लगातार दोस्रो पटक ला लिगा उपाधि जित्नेछ। मड्रिडले आफ्नै प्रतिद्वन्द्वीलाई उपाधि जित्दै गरेको हेर्नुपर्ने अवस्था आउन सक्छ।
मड्रिडले विज्ञप्ति जारी गर्दै प्रशिक्षणका क्रममा भएको घटनाबारे भाल्भेर्डे र टचुआमेनीविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरिएको जनाएको छ।
भाल्भेर्डेले भने सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटनालाई सामान्य विवाद मात्रै भएको बताएका छन्। उनले कुनै मुक्का हानाहान नभएको दाबी गर्दै झगडाका क्रममा टेबलमा टाउको ठोक्किँदा सामान्य चोट लागेको बताएका छन्। चोटका कारण उनलाई अस्पतालमा आकस्मिक उपचार गराइएको थियो।
२७ वर्षीय उरुग्वेली खेलाडी भाल्भेर्डे आगामी १० देखि १४ दिनसम्म आराममा रहने क्लबले जनाएको छ। उनको टाउकोमा ‘क्रानियोएन्सेफालिक ट्रमा’ अर्थात् टाउकोमा गम्भीर असर पर्ने प्रकारको चोट लागेको चिकित्सकीय परीक्षणपछि पुष्टि भएको हो। यसका कारण उनले घरेलु सिजनका बाँकी चार खेल गुमाउन सक्ने सम्भावना छ।
भाल्भेर्डेले आफ्नो व्यवहारप्रति माफी माग्दै लामो र निराशाजनक सिजनका कारण भावनात्मक तनाव बढेको बताएका छन्। उनले लेखेका छन्,‘यो सिजन हामीले कुनै उपाधि जित्न सकेनौं, त्यसैले सबै कुरा ठूलो रूपमा हेरिएको छ। टोलीका केही खेलाडीहरूले अन्तिमसम्म संघर्ष गरिरहेका बेला मेरो रिस र निराशाले सहकर्मीसँग विवाद गर्ने अवस्था आयो। म यसका लागि साँच्चिकै माफी चाहन्छु।’
टचुआमेनीले भने घटनाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
यसैबीच, प्रशिक्षणका क्रममा अर्को झगडा पनि भएको बताइएको छ। डिफेन्डर आल्भारो करेरासले आफू र एन्टोनियो रुडिगर बीच सामान्य विवाद भएको स्वीकार गरेका छन्। उनले उक्त घटना सानो र समाधान भइसकेको बताएका छन्।
यस सिजनमड्रिडले कुनै ठूलो उपाधि जित्न सकेन। टोली जर्मन क्लब बायर्न म्युनिखसँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पराजित भयो भने अल्बासेटेसँग हार्दै कोपा डेल रेबाट बाहिरिएको थियो। साथै, स्पेनिस सुपर कपमा पनि बार्सिलोनासँग उपाधि गुमाएको थियो।
क्लबले जनवरीमा प्रशिक्षक जाबी आलोन्सोलाई पदबाट हटाएर सिजनकै बीचमा प्रशिक्षक परिवर्तन गरेको थियो।










-1778148743099.webp&w=3840&q=75)

