रोनाल्डोको साउदी लिगमा शतकीय गोल

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले बिहीबार आफ्नो १००औं साउदी प्रो लिग गोल पूरा गरेका छन्। योसँगै अल–नासरले अल–शबाबलाई ४–२ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ।
४१ वर्षीय फरवार्ड रोनाल्डोले खेलको ७५औं मिनेटमा साडियो मानेको क्रसलाई नजिकको पोस्टमा उत्कृष्ट रूपमा गोलमा परिणत गर्दै आफ्नो करिअरको ९७१औं गोल गरे। यो यस सिजनमा उनको २६औं लिग गोल पनि हो।
खेलपछि अल–नासरका प्रशिक्षक जोर्ज जिससले भने,‘रोनाल्डो सधैं आक्रमणमा खतरनाक खेलाडी हुन्। आज पनि उनले त्यो प्रमाणित गरे।’
जुलाईमा चेल्सीबाट अनुबन्ध भएका जोआओ फेलिक्सले लिग अगुवाका लागि ह्याट्रिक पूरा गरे। यस जितसँगै अल–नासरले ३२ खेलबाट ८२ अंक बनाएको छ।
यो दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंक बढी हो। अल–हिलालले अझै तीन खेल खेल्न बाँकी छ भने अल–नासरको दुई खेल मात्र बाँकी छन्। अल–हिलालले शुक्रबार अल–खोलुदसँग खेल्नेछ र त्यसपछि मंगलबार अल–नासरसँग महत्त्वपूर्ण रियाद डर्बी हुनेछ। यसले उपाधि दौडको निर्णय गर्न सक्छ।
प्रशिक्षक जोर्ज जिससले भने,‘अब हाम्रो प्रतिद्वन्द्वीसँग डर्बी खेल छ, जुन निकै कठिन हुनेछ। हामी यसको महत्त्व राम्ररी बुझिरहेका छौं र पूर्ण ध्यानका साथ तयारी गरिरहेका छौं। किनकि साना विवरणले पनि नतिजा तय गर्न सक्छ।’
पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासरमा अनुबन्ध भएपछि अझैसम्म साउदी अरबमा ठूलो उपाधि जित्न सकेका छैनन्।









-1778148743099.webp&w=3840&q=75)


