एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
इंग्ल्याण्डको लर्ड्समा हुने अष्ट्रेलियाले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । न्युजिल्याण्डले फिल्डिङ गरिरहेको छ ।
लर्ड्स क्रिकेट मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यमा रहेका छन् । अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनलमा यसअघि नै पुगिसकेको छ । अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलिया दबाबरहित खेल्नेछ ।
अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ । तर, अष्ट्रेलिया न्युजिल्याण्डलाई पराजित गर्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।
यता, न्युजिल्याण्डको नजर भने सेमिफाइनल पुग्नु रहेको छ । न्युजिल्याण्ड अष्ट्रेलियालाई हराएर सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
न्युजिल्याण्ड ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा रहेको । अष्ट्रेलियालाई हराए न्युजिल्याण्ड सेमिफाइनल पुग्नेछ । तर, बलियो अष्ट्रेलियाविरुद्ध न्युजिल्याण्डलाई जित निकाल्न निकै कठिन भने हुनेछ ।
दुईबीचको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले २ खेल जितेको छ भने अष्ट्रेलियाले १ खेल जितेको छ । दुई बीचको २ खेल भने नतिजाविहीन बनेको छ ।