एजेन्सी । पाकिस्तानका पूर्व अलराउण्डर अब्दुल रज्जाकले भारतका अलराउण्डर हार्दिक पाण्ड्यालाई आफुले २ हप्तामा विश्वको नम्बर एक लराउण्डर क्रिकेटर बनाउन सक्ने बताएका छन् ।
आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत बिहिबार भएको वेष्ट इण्डिज र भारतबीचको खेल हेरेपछि रज्जाकले पाण्ड्याको प्रदर्शनमा थुप्रै कमजोरी देखिएको बताए । तर, रज्जाकले पाण्ड्यासँग उत्कृष्ट अलराउण्डर बन्ने क्षमता रहेको र आफुले दुई हप्तामा विश्वको नम्बर एक अलराउण्डर बनाउने दाबी गरे ।
'म हार्दिक पाण्ड्यालाई २ हप्तामा विश्वको नम्बर १ अलराउण्डर बानाउन सक्छु । मैले भारत र वेष्ट इन्डिजको खेल हेरे र पहिलो पटक हार्दिकलाई नियाल्ने मौका पाए,' ३९ बर्षका रज्जाकले सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, 'ब्याटिङ गर्दा उनको फुटवर्क, बडी ब्यालेन्समा थुप्रै समस्या देखियो । यदी मैले पाण्ड्यासंग काम गर्ने मौका पाए, सिकाउने प्रयास गरे भने मलाई विश्वास छ उनी विश्वका नम्बर १ अलराउण्डर बन्न सक्नेछन् ।'
यस्तै रज्जाकले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) तयार भए आफु पाण्ड्याको प्रदर्शनमा सुधार गर्न तयार भएको बताए ।
'यदि बीसीसीआई पाण्ड्याको प्रदर्शनमा सुधार ल्याउन चाहान्छ भने म तयार छु,' रज्जाकले थपे, 'दुई हप्तामा उनलाई उत्कृष्ट अलराउण्डर बनाउन सक्छु ।'
तीब्र गतिका बलर रज्जाकले पाकिस्तानबाट ४६ टेष्टमा १ हजार ९ सय ४६ रन बनाउँदा १०० विकेट हात पारेका छन् ।
एकदिवसीयतर्फ उनले २ सय ६५ खेलमा ५ हजार ८० रन जोड्दा उनले २ सय ६९ विकेट हात पारेका छन् ।