काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसँग हाेटल क्राउन प्लाजा नक्साल जोडिएको छ । आउने मंगलबार आयोजना हुने अवार्डका लागि हाेटल क्राउन प्लाजा सह-प्रायोजकको रुपमा जोडिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहिबार हाेटल क्राउन प्लाजासँग एक बर्षे सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हाेटल क्राउन प्लाजाका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै होटलले अवार्ड र मञ्चको कार्यक्रममा आवास र खानपानको व्यवस्था गर्नेछ । सम्झौतापछि बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले ४ लाख भन्दा बढीको प्रायोजन भएको बताए । श्रेष्ठले अवार्डका लागि दुई दिनको लागि खाना र १० वटा रुम निशुल्क दिने जानकारी गराए ।
स्पोर्ट्स अवार्ड यहि असार १७ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । मञ्चले यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ ।
यस पटक बर्ष उत्कृष्ट खेलाडी पुरुष, बर्ष उत्कृष्ट खेलाडी महिला, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।
मञ्चले पाँच वटै विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा अवार्ड कार्यक्रममा गरिनेछ ।